स्वर्ग रोएको दिन” 

सम्राज्य तपाईंकै हो…

तीन दिन, तीन रात,

स्वर्ग मौन थियो,

पृथ्वी शोकमा डुबेको थियो,

तर तपाईं अन्धकारसँग अन्तिम युद्ध लडिरहनुभएको थियो।

निर्दोष भएर पनि अपराधीझैँ उभ्याइनुभयो।

जसका हातले दृष्टिविहिन लाई दृष्टि दिए,

तिनै हातमा निर्दयी कीला ठोकिए।

जसका पाइलाले शान्ति बोके,

तिनै खुट्टामा फलाम घोपियो।

हरेक कोर्राको प्रहारले

तपाईंको शरीर च्यातिँदै गयो,

र प्रत्येक रगतको थोपाले

मानवजातिको ऋण तिरिँदै गयो।

काँडाको मुकुटले शिर छेड्दा

मानिस हाँसे,

तर स्वर्ग रोयो।

तपाईंको अनुहार रगतले ढाकिएको थियो,

तैपनि आँखामा घृणा थिएन—

प्रेम मात्र बाँकी थियो।

क्रूसको भारले काँध थिचिएको थियो,

तर संसारको पापको भार

झन् भारी थियो।

हरेक पाइला वेदनाले भरिएको थियो,

तैपनि तपाईं रोकिनुभएन।

क्रूसमा झुण्डिँदा

सास फेर्न पनि पीडा थियो।

तैपनि तपाईंले भन्नुभयो

“हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्।”

त्यो क्षण,

प्रेमले न्यायलाई भेट्यो,

अनुग्रहले पापलाई जित्यो,

र बलिदानले उद्धारको ढोका खोल्यो।

जब तपाईंले भन्नुभयो,

“सबै पूरा भयो,”

त्यो हारको घोषणा थिएन—

त्यो त शैतानको पराजय,

मृत्युको अन्त्य,

र मुक्तिको विजयघोष थियो।

तेस्रो दिन चिहान रित्तो भयो।

रगतले लेखिएको कथा

पुनरुत्थानको महिमामा परिणत भयो।

आज पनि क्रूसले चुपचाप भन्छ—

“मैले तिम्रो निम्ति यो सबै सहें,

तिमी जीवन पाऊ भनेर।”

महिमा, आदर, राज्य र सम्राज्य—युगानुयुग तपाईंकै हो। आमेन।