
धिरज दाहाल, बिराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर पछिल्ला दिनमा असामान्य चहलपहल देखिन्छ। प्रायः नाटक मञ्चनमा वयस्क दर्शक बढी देखिने गरे पनि अहिले हल विद्यार्थीले भरिएको छ। कारण हो—आरोहण गुरुकुलले कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ लाई रंगमञ्चमा उतारेको प्रयास।

विद्यार्थीले पुस्तकमा पढेको पात्रलाई प्रत्यक्ष आँखै अगाडि देख्दा उनीहरूको अनुभव केवल अध्ययनसम्म सीमित रहँदैन। नाटकमा अष्टनारान खेतमै पसिना बगाउँदै मृत्युशय्यामा पुगेको दृश्य, छोरी नानीथंकुमाथि सूरमान सुब्बाको लोभी नजर वा परिवारको सामूहिक मृत्यु—यी सबले किताबका शब्दलाई असलै जीवन्त बनाइदिएका छन्। यही कारण कतिपय विद्यार्थीले नाटक हेरेपछि “अब किताब फेरि पढ्न मन लाग्यो” भनेका छन्।
यो घटना केवल प्रतिक्रिया मात्र होइन; यो शिक्षा र संस्कृतिको अन्तरसम्बन्धको प्रमाण हो। पाठ्यपुस्तक र रंगमञ्चबीच बनाइएको पुलले विद्यार्थीलाई जीवनसँग जोडिदिएको छ।
‘एक चिहान’ साधारण ज्यापू कृषक अष्टनारानको कथा हो। आधा पेट खाएर अरूलाई भरपेट खुवाउने मेहनती किसान रोगले थला परेपछि उनका श्रीमती, छोराछोरी र बुहारीले सामना गर्नुपर्ने असुरक्षा नाटकको मूल धारा हो। गरिबी, अन्याय, अन्धविश्वास र परम्परागत संस्कारमाथि उठाइएका प्रश्नहरूले आजको समाजलाई पनि छेड्छन्।
अन्ततः खेतमै सबै सदस्यको मृत्यु भएसँगै ‘एक चिहान’ केवल शीर्षक मात्र होइन, एक परिवार र एक युगको त्रासदी बनेर उपस्थित हुन्छ।
करिब दुई घण्टाजतिको प्रस्तुतिमा १३ कलाकारले कथा बोकेका छन्। महेश पासवान (अष्टनारान) ले भूमिकालाई भित्री संवेदनासहित उठाएका छन् भने संगीता यादव (लतमाया), दिव्यांका खड्का (नानीथंकु) र उपासना राई (सिन्तली) को अभिनय विशेष चर्चित बनेको छ। नयाँ पुस्ताको आत्मविश्वासी प्रस्तुति रंगमञ्चको भविष्यबारे सकारात्मक संकेत हो।
मञ्च सजावट सरल भए पनि कथासँग मेल खाने खालको छ। हलमा कहिले हाँसो उठ्छ, कहिले आँसु झर्छ। नाटकले जीवनका दुःख र हास्य दुवैलाई एकैसाथ प्रस्तुत गर्न सकेको छ।
नाटकका संयोजक देवेन्द्र यादव भन्छन्—“नाटक कला मात्र होइन, शिक्षणको अर्को विधा हो।” साँच्चै पनि विद्यार्थीले किताबमा पढ्दा भन्दा आँखा अगाडि पात्र देख्दा, आवाज सुन्दा र पीडा महसुस गर्दा मात्रै कथा जीवन्त हुन्छ। विद्यालय प्रशासनले सामूहिक रूपमा विद्यार्थीलाई ल्याउनु र शिक्षकलाई समेत सहभागी गराउनु यस नाटकलाई शैक्षिक अभ्यासको रूपमा स्थापित गराउने अर्को पक्ष हो।
आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीका अनुसार विद्यालय–कलेजको चापले दैनिक दुई शोबाट तीन शोमा विस्तार गर्नुपरेको छ। यसले विराटनगरमा कमजोर भएको भनिने नाटक संस्कृतिलाई पुनर्जीवित गर्ने संकेत दिएको छ।
‘एक चिहान’ को मञ्चनले विद्यार्थी पुस्तालाई मात्र होइन, विराटनगरकै सांस्कृतिक मानसिकतालाई परिमार्जन गर्ने संकेत दिएको छ। साहित्य र जीवनबीच सम्बन्ध खोज्ने जो–कोहीका लागि यो नाटक एउटा जीवित उदाहरण बनेको छ।
‘एक चिहान’ अहिले केवल नाटक होइन—यो शिक्षा, समाज र संस्कृति जोड्ने एउटा प्रयोगशाला हो। यदि यस्तो अभ्यास निरन्तर भयो भने विराटनगरले निकट भविष्यमा रंगमञ्चलाई मनोरञ्जन होइन, सामूहिक चेतना र सिकाइको माध्यमका रूपमा अंगिकार गर्ने सम्भावना बढेको छ।