हुलाकी राजमार्ग ठप्प : भीम पराजुलीको आमरण अनसन चेतावनी

विराटनगर। लाकी राजमार्गको मोरङ खण्डअन्तर्गत हाटखोला–रामचोक ६ किलोमिटर सडक निर्माण लामो समयदेखि रोकिएपछि कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि पनि यसै सडकका लागि आन्दोलन र अनशन गरेको स्मरण गरे।

पराजुलीले भने।“पटक–पटक सहमति भए पनि सडक निर्माण अघि बढेको छैन। अहिले पनि अवस्था जस्ताको तस्तै छ। यो बाटो हिँड्दा साइकल, रिक्सा र मोटरसाइकल चलाउनेले निकै कष्ट भोगिरहेका छन्।”

उनले ठेकेदारको प्रभाव र लापरबाही नियन्त्रण गर्न नसकेको आरोप सरकारलाई लगाए। सम्झौता उल्लंघन गर्ने ठेकेदारलाई कालो सूचीमा राखी नयाँ प्रक्रिया अघि बढाउन माग गर्दै उनले संघको जिम्मेवारी भन्दै प्रदेश सरकारले पन्छिन नमिल्ने चेतावनी दिए।

२०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीलाई ७७ करोड रुपैयाँमा ठेक्का दिइएको यो सडक दुई वर्षमै सम्पन्न गर्ने योजना थियो। तर हालसम्म जम्मा २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ।