अनधिकृत व्यक्तिको प्रवेश रोक्ने भन्सार विभागको निर्देशनप्रति एजेन्ट महासंघको समर्थन

विराटनगर ।भन्सार विभागले अनधिकृत व्यक्तिको संलग्नता नियन्त्रण गर्दै प्रचलित कानुनअनुसार इजाजतप्राप्त भन्सार एजेन्ट तथा प्रतिनिधिमार्फत मात्र मालवस्तु जाँचपास गराउने सम्बन्धमा जारी गरेको निर्देशनप्रति भन्सार एजेण्ट महासंघ नेपाल र विराटनगर भन्सार एजेन्ट संघले समर्थन जनाएका छन् ।

विराटनगर भन्सार एजेन्ट संघले बिहीबार विज्ञप्ति जारी गर्दै भन्सार विभागको निर्देशन स्वागतयोग्य रहेको जनाएको हो । संघले विभागको निर्देशनले भन्सार नाकामा हुने अनधिकृत प्रवेश तथा गतिविधि नियन्त्रण गर्नुका साथै भन्सार प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्माले कानुनले स्पष्ट रूपमा भन्सार एजेन्टको अधिकार र जिम्मेवारी निर्धारण गरेको अवस्थामा अनधिकृत व्यक्तिको संलग्नता हुनु पेशागत मर्यादाविपरीत भएको बताए । उनका अनुसार यसले राजस्व प्रशासन तथा व्यापार सहजीकरणमा समेत चुनौती सिर्जना गर्न सक्छ ।

संघले आफ्ना मातहतका सम्पूर्ण भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित कानुन, विभागीय निर्देशन तथा पेशागत मर्यादाको पूर्ण पालना गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ ।

भन्सार एजेण्ट महासंघ नेपालका सचिव प्रविण जोशीले विभागबाट जारी पत्र अत्यन्त स्वागतयोग्य रहेको बताए । उनले भने, “यसले भन्सारमा हुने अनधिकृत प्रवेश र गतिविधि नियन्त्रण हुने हाम्रो बुझाइ छ ।”

जोशीका अनुसार महासंघको अभियान देशभरका भन्सार नाकामा कानुनी रूपमा इजाजतप्राप्त एजेन्टलाई मात्र काम गर्ने वातावरण निर्माण गर्ने उद्देश्यसँग जोडिएको छ । उनले विराटनगर भन्सार एजेन्ट संघले जनाएको ऐक्यबद्धताले अभियानलाई थप बल पुगेको बताए ।

महासंघले विभागीय निर्देशन कार्यान्वयनका क्रममा स्थानीय भन्सार कार्यालयमा देखिन सक्ने व्यवहारिक समस्या, जाँचपासको गति, वस्तु परीक्षण, सेवा प्रवाह तथा राजस्व असुलीलगायत विषयलाई तथ्यगत रूपमा अभिलेखीकरण गरी सम्बन्धित निकायसँग संवाद र सहकार्यका माध्यमबाट समाधान खोजिनुपर्नेमा जोड दिएको छ ।

विराटनगर भन्सार एजेन्ट संघले कानुनको पालना, पेशागत मर्यादा र संस्थागत एकता नै आधुनिक, पारदर्शी तथा व्यवस्थित भन्सार प्रणालीको आधार भएको उल्लेख गर्दै विभागीय निर्देशन कार्यान्वयनमा सम्बन्धित सबै पक्षलाई सहयोग गर्न अपील गरेको छ ।