नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्य मानिँदै आएको मलेसियाको नयाँ मापदण्ड, यूएईको भिसा निलम्बन, साउदी अरबको कडाइ र कतारको सुस्त गतिले हाल वैदेशिक रोजगारी क्षेत्रमा ठुलो असर पारेको छ । यता युरोपियन मुलुकहरूमा पुग्न सहज नभएकै कारण र त्यहाँको उच्च खर्च तथा ठगीका घटनाले पनि नेपाली कामदार निराश बनेका छन् ।

पछिल्ला दुई वर्षयता सबैभन्दा धेरै रोजगारीका अवसर प्रदान गर्ने देश यूएई थियो । वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाँच लाख नेपालीले नयाँ श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका थिए । तीमध्ये दुई लाखभन्दा बढीलाई यूएईले रोजगारी दिएको थियो । गत साउन र भदौ महिनामा पनि यूएई जाने नेपाली श्रमिकको संख्या सबैभन्दा बढी देखिएको छ ।
केवल गत भदौ महिनामात्रै ४५ हजार नेपाली वैदेशिक रोजगारीका लागि गएका मध्ये २० हजार यूएईतर्फ गएका थिए । यो संख्या भिजिट भिसा बाहेकको हो । तर २३ र २४ भदौमा भएका प्रदर्शनपछि यूएईले रोजगार र भिजिट दुवै भिसा वितरण बन्द गरेको छ । यसको औपचारिक कारण नेपालले अझै पाएको छैन, र यो प्रतिबन्ध कहिलेसम्म रहने हो भन्ने स्पष्टता पनि छैन ।
दुई दशकदेखि यूएईमा व्यवसाय गर्दै आएका एकेन्द्र थापाका अनुसार यूएईमा नेपालीहरूले मासिक ८ सयदेखि ८० हजार दिरामसम्मको तलब पाउँछन् । केवल नेपालबाट मात्रै होइन, अस्ट्रेलिया, युरोप र अमेरिका हुँदै उच्च शिक्षा लिएका नेपालीहरू समेत यूएईलाई रोजगारीका आकर्षक अवसरको केन्द्र मान्ने गरेका छन् । पछिल्ला वर्षहरूमा नेपाली महिलाका लागि पनि यूएई एक प्रमुख गन्तव्य मुलुक बनेको छ । बिहान भिसा आवेदन दिएर बेलुकासम्म उडान पाउने सहजता यूएईमा रहेको थापाले बताए ।
उनका अनुसार, यूएईको सेवा क्षेत्रदेखि व्यवस्थापनका तहसम्म नेपालीहरूको उल्लेख्य उपस्थिति छ । ‘नेपालीहरूलाई प्राथमिकता दिइँदै आएको बेला भिसा अचानक बन्द हुनु दुखद छ,’ थापाले भने, ‘यसमा केही हदसम्म हाम्रो आफ्नै सामाजिक व्यवहार पनि कारण बनेको छ ।’
हाल सबैको चासो एउटै छ ,“यूएई भिसा कहिले खुल्ला?” तर नेपालको आधिकारिक जवाफ छोटो छ – “हामी कूटनीतिक स्तरमा प्रयासरत छौं ।”
मलेसिया, यूएई, साउदी अरब र कतारले नयाँ नीति, कोटा कटौती र भिसा कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा घट्दै गएको छ ।
