विराटनगरमा लघुरुद्राभिषेक तथा जलधारा कार्यक्रम आयोजना हुने

विराटनगर । विराटनगर–८ मधुमारा स्थित अष्ट चिरञ्जीवी मन्दिरमा लघुरुद्राभिषेक तथा सामूहिक रुद्र शिवारण जलधारा कार्यक्रम आयोजना हुने भएको छ।

बाल संस्कार तथा युवा जागृति केन्द्र तथा अष्ट चिरञ्जीवी मन्दिर परिवारको आयोजनामा भाद्र ३ गते श्रावण शुक्लपक्ष सप्तमीका दिन बिहान ७ बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा सामूहिक रूपमा रुद्र शिवारण जलधारा संकलन गरी लघुरुद्राभिषेक गरिनेछ।

देशमा सुख, शान्ति तथा समृद्धि कायम हुनुका साथै विराटनगरवासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै संकल्प गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी भई धार्मिक तथा सामाजिक कार्यमा योगदान गर्न आयोजकले सर्वसाधारणलाई आग्रह गरेको छ। कार्यक्रममा सहयोगस्वरूप प्रतिव्यक्ति रु. १ हजार १०० प्रदान गरी संकल्प गर्न सकिने व्यवस्था गरिएको छ।

बाल संस्कार तथा युवा जागृति केन्द्रका अध्यक्ष विनायक पन्तले धार्मिक संस्कार र सामाजिक एकतालाई जोड्दै सामूहिक रूपमा आयोजना गरिएको कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताए। उनले देश र समाजको सुख, शान्ति तथा समृद्धिको कामनासहित आयोजना गरिएको कार्यक्रममा सबैको सहभागिता र सहयोग आवश्यक रहेको बताए।

कार्यक्रम विराटनगर–८, मधुमारा स्थित अष्ट चिरञ्जीवी मन्दिर परिसरमा हुने आयोजकले जनाएको छ।