
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८, स्वागत चौककी ८९ वर्षीया शान्तिदेवी शर्माले लामो प्रतिक्षापछि पहिलोपटक नागरिकता प्राप्त गरेकी छन्। जीवनको अन्तिम चरणमा पुग्दा पाएको यो कानुनी पहिचान उनका लागि निकै महत्त्वपूर्ण बनेको छ।

शान्तिदेवीका श्रीमान योगी शर्माको निधन करिब १७ वर्षअघि भएको थियो। श्रीमानको मृत्युपछि आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा गर्न नसक्दा उनले नागरिकता बनाउन धेरै कठिनाइ भोग्नुपर्यो। यस कारण उनी लामो समयसम्म सरकारी सुविधा र विशेषगरी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहिन्।
विराटनगर–८ का वडा अध्यक्ष राम पोखरेलले उनको अवस्थाबारे थाहा पाएपछि सक्रिय पहल गरेका थिए। कानुनी प्रक्रिया पूरा गराएर उनले शान्तिदेवीलाई बैवाहिक अंगिकृत नागरिकता दिलाए। नागरिकता पाएसँगै उनका तीन छोरा र बुहारीले पनि आफ्नो नागरिकता लिन सके, जसले गर्दा सम्पूर्ण परिवारलाई कानुनी रूपमा पहिचान प्राप्त भयो।
नागरिकता पाउँदा शान्तिदेवीले यो क्षणलाई जीवनको ठूलो उपलब्धि भएको बताइन्। उनले नागरिकता नहुँदा विभिन्न काममा समस्या परेको स्मरण गरिन् र अब भने कानुनी अधिकार पाएकोमा खुशी व्यक्त गरिन्।
नागरिकता प्राप्त गरेसँगै उनले सामाजिक सुरक्षा भत्ता लिन थालिसकेकी छन्, जसले वृद्धावस्थामा आर्थिक राहत पुर्याउनेछ। वडा अध्यक्ष पोखरेलले यस्ता समस्यामा परेका अन्य व्यक्तिलाई पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शान्तिदेवीको यो उपलब्धि अझै पनि नागरिकता नपाएका वृद्धवृद्धाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ।