
एजेन्सी — एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुमध्ये चार जनाको परिवारले विमान निर्माता कम्पनी बोइङविरुद्ध मुद्दा दायर गरेका छन्।

पीडित परिवारहरूले बोइङसँगै एयरोस्पेस कम्पनी हनीवेलमाथि पनि लापरबाही गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा हालेका हुन्।
सन् २०२५ को जुन महिनामा भएको यस दुर्घटनामा २६० जनाको ज्यान गएको थियो। परिवारका तर्फबाट दायर मुद्दामा इन्धन नियन्त्रण गर्ने स्विचमा देखिएको खराबीका कारण दुर्घटना भएको दाबी गरिएको छ।
अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डियाको उडान नम्बर १७१ जुन १२ मा उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। दायर मुद्दामा बोइङ ७८७–८ ड्रीमलाइनरमा प्रयोग गरिएको स्विच अनायासै बन्द हुन सक्ने, जसले इन्धन आपूर्ति रोक्ने र आवश्यक उडान गति नपुग्ने अवस्था सिर्जना गर्ने प्राविधिक कमजोरी रहेको आरोप लगाइएको छ।