अब अमेजनका समान रोबोटले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

डोरस्टेप डेलिभरीको भविष्य चाँडै पूर्ण रूपमा बदलिन सक्ने संकेत देखिएको छ। अमेजनले हाल “ह्युमनोइड रोबोट” को प्रयोग सुरू गरेको छ, जसले डेलिभरी भ्यानबाट सिधै ओर्लेर ग्राहकको ढोकासम्म समान पुर्‍याउनेछ।

अमेरिकाको सान फ्रान्सिस्कोमा अहिले यी रोबोटहरूको परीक्षण भइरहेकाे छ, जहाँ ‘ह्युमनोइड पार्क’ नामक विशेष स्थानमा तिनीहरूलाई डेलिभरी तालिम दिइँदैछ। अमेजनका अनुसार यी रोबोटहरू “रिभियन इलेक्ट्रिक भ्यान” सँग एकीकृत हुनेछन् र हाल पायलट परियोजनाका रूपमा मात्र प्रयोग भइरहेका छन्।

हाल प्रयोगमा रहेका ‘युनी ट्री १’ नामका रोबोटहरू दुई हात र दुई खुट्टासहित मानवजस्तै गतिविधि गर्न सक्षम छन्। करिब १६ हजार अमेरिकी डलर लागत पर्ने यी रोबोटहरूलाई जटिल र अप्ठ्यारा स्थानहरूमा पनि परीक्षण गरिँदैछ ताकि तिनीहरूले वास्तविक जीवनका चुनौतीहरू सामना गर्न सकून्।

यद्यपि, अमेजनले प्रष्ट पारेको छ कि रोबोटहरू पूर्ण सक्षम नभएसम्म डेलिभरी भ्यानहरू मानव चालकले नै चलाउने छन् र हालसम्म यसले मानवीय डेलिभरी म्यानको जागिरमा तत्काल असर पार्ने छैन।

तर दीर्घकालीन रूपमा हेर्दा, अमेजनको यो रणनीति केवल गोदाम स्वचालनमा सीमित नरही ‘लास्ट माइल डेलिभरी’ मा पनि व्यापक प्रभाव पार्न सक्ने देखिन्छ। लागत घटाउने र सेवामा तीव्रता ल्याउने लक्ष्यले गरिएको यो प्रयोग सफल भएमा, अमेजनका करिब १७ लाख डेलिभरी ड्राइभरहरूको जागिर जोखिममा पर्न सक्ने सम्भावना बढेको छ।

डिजिटल युगमा प्रवेशसँगै स्वचालनको लहर तीव्र बन्दै जाँदा, डेलिभरी उद्योगमा समेत ठूलो परिवर्तनको संकेत देखिन थालेको छ।