प्रधानमन्त्री ओलीद्वारा मोरङको जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

विराटनगर । 
प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ जिल्लाको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन्। शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्।उक्त अस्पताल सामाजिक उत्तरदायित्व र व्यवसायिक भावना दुबैलाई समेट्ने गरी, पूर्वी नेपालका विपन्न तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई लक्षित गर्दै स्थापना गरिएको हो। अस्पतालको उद्देश्य सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाइएको छ।

प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा पुग्दा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलसहित स्थानीय नेताहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए।कार्यक्रमका वक्ताहरूले जीवन विकास सामुदायिक अस्पतालको स्थापना केवल स्वास्थ्य सेवा प्रदान गर्न मात्रै नभएर स्थानीय जनतालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्य पनि राखिएको जानकारी दिए। अस्पतालसँगै टेक्निकल एजुकेसन फाउन्डेसन पनि सञ्चालनमा ल्याइएको छ जसले विभिन्न प्राविधिक तथा व्यावसायिक तालिमहरू प्रदान गर्नेछ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा पूर्वी नेपालजस्तो भूगोलमा गुणस्तरीय सेवा पु¥याउने संस्थाको खाँचो औँल्याउँदै यस्ता संस्थाहरूले सरकारको योजनालाई साथ दिने बताए। उनले स्थानीय विकासमा जनसहभागिता, नवप्रवर्तन र सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने उल्लेख गर्दै अस्पताल परिवारलाई धन्यवाद व्यक्त गरे।जीवन विकास सामुदायिक अस्पतालले आगामी दिनमा स्थानीय क्षेत्र मात्र नभई आसपासका जिल्लाका जनताहरूलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।