
काठमाडौँ।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–५ बस्ने, महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार स्थायी घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने, महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन्।
बिर बहादुर घिसिङले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख १० हजार रुपैयाँ लिएका थिए भने दिनेश खड्काले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले घिसिङलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट र खड्कालाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट मङ्गलवार पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइएको छ।