विद्या नष्ट–म भगवान

पछिल्ला केही दिनबाट नेपाली राजनैतिक बजारमा ताता, टर्रा र झर्रा भाकाका बोलीहरु बिकिरहेका छन् । सर्वाधिक चासो र दलका कार्यकर्तालाई मात्र चिन्ता थपिरहेका साताका घटनाक्रमहरुले आम जनतालाई सायद खासै फरक पारेको छैन । पानी परेको छैन, धान रोप्न चटारोमा रहेका किसान आकाश तिर टाउको फर्काउन बाध्य छन । खेतबारीमा भ्यागुत्ता समेत कराएका छैनन् । रासायनिक मल त किसानका लागि लेकमा यार्सागुम्वा खोज्न भन्दा सकस भयो ।
काठमाडौंमा माझ किरातको चर्चा छ । कसका खुट्टा लुला कसका तगडा भनेर जाच्न राजनैतिक एमआरआई गरिदैछ, गर्न बाँकी छ । ह्याकुलो र मुटुको तौल अनि चालका आधारमा मानिस जोखिदैछ । बोल्ने हिम्मत गरेर बोल्दैछन । बोल्नेलाई खुइल्याइदैछ तर स्तुती गाउनेको गाथा र कथा भिन्नै छ । समय आएपछि उचित पुरस्कार र सम्मानको व्यवस्था छदैछ । त्रास, धम्की अनि जयजयकार समान गुन्जिदैछ शहरमा ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले यसपटक नयाँ अवतार ग्रहण गरे । हुनत ओली आफै भगवान विष्णुका दश अवतारलाई समेत मात खुवाउन सक्ने क्षमता भएका मानव अवतार हुन् । तर, यो पटक शेषनागमा मस्त आराम गरिरहेका विष्ण्ुालाई समेत झण्डै झण्डै उठाउन सफल भएका ओलीले कार्यकर्तालाई आफ्नो एघारांै विश्वरुप देखाइदिए । बिचारा, नतमस्तक गरेर प्रणाम गर्न र स्तुती बाहेक केही गर्ने विकल्पै भएन । एकै झट्कामा विद्या नष्ट गरिदिए ।
राजनीतिमा इमान, जवान(बचन) र वेइमान तिनै गुण चाहिन्छ । यो तिन मध्ये इमान नहुदा पनि बजारमा रहन पाइन्छ, केही फरक पर्दैन तर वेइमानको गुण अनिवार्य छ । हुनत जसरी कांग्रेसमा पछिल्लो समय विपी कोइराला विपी स्मृति दिवसमा मात्र धर्तिमा आउँछन अनि आफ्ना राजनैतिक दर्शन सम्झाउँछन एमालेमा पनि उही हाल छ । उषा किरणले आज बुझिन, पुष्पलालका परिवारले किन एमालेलाई नैतिक समर्थन समेत नगरेका रहेछन ! आमा विद्याको सदस्यता नष्ट गरेपछि चेत आयो उषाको । बाले त अस्ति नै जवजको उत्पत्ति, मदनका श्रीमती अनि सहकारीको बयान गरेरै बुझाउन खोजेका थिए । तैपनि आषा भन्ने रहन्छ राजनीतिमा सायद त्यही थियो । तर, अब त्यसको पनि झिनो डोरी चुडियो ।
भगवानसँग ईश्वरको जोरी पनि देखियो । कर्णको कवज पनि खुस्कियो । सुरेन्द्रको इन्द्रिय रुपको त कामै भएन । सबैभन्दा सर्व शक्तिमान भगवान नै देखिए । साथमा चित्रगुप्तहरुको समुहले बिधान पल्टाउदा दफा र उपदफा नै फेरियो । अनि त के बाँकि रह्यो र ! ईश्वरको इश्वरीय पद चैट भयो । कर्ण कवच बिनाको नाङ्गो भए । सुरेन्द्रको इन्द्र पद पनि गयो । बिद्या नष्ट गरियो । भगवानको जयजयकार भयो ।
अब करोडौंको जग्गा दानमा पाएकै छ, लिएकै हो । सायद एउटा मन्दिर बनाउन समेत दाता पाउन समस्या हुदैन, नत्र गोकुलमा अलिकति करोड थन्क्याएकै छ । अलिकति कोट्याउँदा पनि मन्दिर बन्छ नै होला । आषा गरौ, मन्दिर बन्छ । भगवानको एघारौं अवतारको भव्य मुर्तिको प्राणप्रतिष्ठा हुने छ । अनि पत्रकार सुरेश रजकका परिवारले जस्तो भगवानको दर्शन पाउन मुस्किल हुने छैन सायद भगवानका अनुयायीहरुलाई । अस्तु ।