
काठमाडाैं, १६ असार । चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा देशभित्र धेरै कमाइ गर्ने २५ वटा नेपाली फिल्मका निर्माताहरूलाई सम्मान गरेको छ। विशेष कार्यक्रमको आयोजना गर्दै बोर्डले विगत २५ वर्षको अवधिमा सर्वाधिक कमाइ गर्ने चलचित्र निर्माताहरूलाई सम्मानित गरेको हो। कार्यक्रमका अवसरमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रहेकाे छ, जसले ४६ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यसपछि क्रमशः ‘कबड्डी ४’ (२१ करोड ४० लाख), ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘छक्का पञ्जा ४’ (१७ करोड ५३ लाख), र ‘जारी’ (१७ करोड ४८ लाख) रहेका छन्।

यस्तै अन्य प्रमुख चलचित्रहरूमा ‘महाजात्रा’, ‘छक्का पञ्जा’ सिरिजका विभिन्न भागहरू, ‘कोहिनुर’, ‘शत्रु गते’, ‘ऊनको स्वीटर’, ‘बोक्सीको घर’, ‘छ माया छपक्कै’, ‘परदेशी २’, ‘प्रेम गीत ३’, ‘महापुरूष’ लगायत रहेका छन्। सबैभन्दा अन्त्यमा ‘पशुपति प्रसाद २–भष्मे डन’ पर्दछ, जसले ७ करोड ३२ लाख रुपैयाँ कमाइ गरेको छ।
यसैबीच, सरकारले चलचित्र विकास बोर्डको स्थापना भएको २५ वर्षको अवसरमा असार १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने निर्णय पनि गरेको छ। यो सम्मान कार्यक्रमले नेपाली फिल्म उद्योगको व्यावसायिक सफलतालाई औपचारिक रूपमा उच्च मूल्याङ्कन गरेको छ।