
झापा । झापामा समयमै पर्याप्त वर्षा नहुँदा बर्खे धानको रोपाइँमा असर परेको छ। असारको तेस्रो साता पुग्न लाग्दा पनि पर्याप्त पानी नपरेपछि रोपाइँ सुस्त भएको हो।

हल्दिबारी–६ का किसान रतनकुमार भुलेलले गत वर्ष यतिबेलासम्म रोपाइँ सकिएको स्मरण गरे। “अघिल्लो साल रोपाइँ सकेर खसिया पनि सारिसकेको थिएँ,” उनले भने, “तर अहिले पानीको अभावले रोपाइँ नै गर्न सकेको छैन।” डेढ बिघा जमिनमा खेती गर्दै आएका भुलेलले सिँचाइको विकल्प नभएकाले समस्या झन् जटिल भएको बताए। पानीको पर्खाइमा बीउ पहेँलिन थालेको उनको गुनासो छ।
गत वर्ष असारको यही अवधिसम्म जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष अहिले सम्म झापा जिल्लामा झन्डै १४ प्रतिशत रोपाइँ मात्र भएको कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले जानकारी दिए। उनले पानी तान्ने मोटर प्रयोगमा किसानहरू लागेपछि रोपाइँको गति बढ्ने अपेक्षा पनि व्यक्त गरे।
मल अभाव फेरि दोहोरियो
गत वर्षको जस्तै यसपालि पनि झापामा मलको अभाव देखिएको छ। किसानहरू मल नपाएको गुनासो गरिरहेका छन् भने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले पनि यो समस्या स्वीकारेका छन्। उनका अनुसार बर्खे धान खेतीका लागि झापामा डीएपी १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्छ। तर मागअनुसार आपूर्ति हुन सकेको छैन। गत वर्ष पनि आवश्यकताभन्दा मात्र १० प्रतिशत मल आपूर्ति भएको उनले जानकारी दिए।
प्रमुख विष्टका अनुसार गोबरको उपयोग बढाउन सकिएमा रासायनिक मलको प्रयोग करिब ४० प्रतिशतले घटाउन सकिन्छ।
उत्पादकत्वमा वृद्धि, क्षेत्रफल घट्दो
धान खेतीको क्षेत्रफल घट्दै जाँदा पनि झापामा उत्पादनमा भने बर्सेनि सुधार हुँदै गएको छ। कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रति हेक्टर उत्पादन ४.८५ मेट्रिक टन थियो, जुन आव २०७९/८० मा ४.८९ र गत वर्ष ५.०५ मेट्रिक टन पुगेको हो।
धान खेतीको क्षेत्रफल भने ८७ हजार ५०० हेक्टरबाट घटेर ७५ हजार ४६९ हेक्टरमा सीमित भएको छ।
झापामा सबैभन्दा धेरै धानखेती गौरादह नगरपालिकामा हुने गरेको छ। गौरीगञ्ज र कचनकवल गाउँपालिकामा पनि उल्लेख्य मात्रामा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। त्यसैगरी, सबैभन्दा कम धान खेती दमक नगरपालिकामा हुने गरेको पाइएको छ।