‘महिलाको लिङ्ग चेक गर्ने’ आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध कारबाहीको माग

विराटनगर ।

 राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा गैरकानुनी शरीर तलासी तथा बेइज्जतीको आरोपमा मुद्दा दायर भएको छ। सुनसरीको इटहरी निवासी एक महिलाले पूर्वमन्त्रीसहित अन्य दुई जनाविरुद्ध उक्त मुद्दा दायर गरेकी हुन्।दर्ता गरिएको मुद्दामा इटहरी–९ का गोपाल शाह र सुनिता घिमिरेसमेत प्रतिवादी छन्। पीडित महिलाको आरोप अनुसार, सम्बन्धविच्छेद र अंश सम्बन्धी मुद्दाका कारण माइती घरमा बस्दै आएकी उनलाई ती व्यक्तिहरूले घरमै पुगेर मानसिक र शारीरिक दबाब दिएका थिए।

पूर्वमन्त्री सुब्बाले आफूमाथि ‘महिला नभएको’ आरोप लगाउँदै लिङ्ग पहिचानको नाममा अपमानजनक व्यवहार गरेको दाबी जाहेरीमा उल्लेख छ। साथै, आफू पूर्वमन्त्री भएको र प्रहरी–प्रशासनमा प्रभाव रहेको भन्दै उनीमाथि दबाब सिर्जना गरिएको पनि महिलाको भनाइ छ।

जाहेरी अनुसार, “रामकुमार सुब्बाले तिमी महिला हौ कि होइनौ भन्ने पुष्टि गर्नुपर्छ” भन्दै साथमा आएकी सुनिता घिमिरेलाई जबरजस्ती शरीर चेक गर्न निर्देशन दिएका थिए। त्यसपछि, घिमिरेले पीडित महिलालाई समातेर घरको एक कुनामा लगेर कपडा खोल्न लगाई शरीर चेक गरेको उल्लेख छ।

पीडितले यो घटनाबाट आफ्नो व्यक्तिगत गोपनीयताको गम्भीर उल्लङ्घन भएको, सार्वजनिक रूपमै अपमानित गरिनुका साथै कानुनी रूपमा अंश पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै अदालतमा कारबाही र क्षतिपूर्तिको माग गरेकी छन्।

यस विषयमा प्रतिवादी पक्षको प्रतिक्रिया भने आउन बाँकी छ। अदालतले मुद्दा दर्ता गरेको पुष्टि गर्दै आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।