अभिषेक गिरीसँग ‘कनेक्सन’ आशंकामा नियन्त्रणमा लिएका मुकेश कार्की रिहा

विराटनगर। आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका विराटनगरका मुकेश कार्कीलाई सोही दिन रिहा गरेको छ।

 

विराटनगर महानगरपालिका–७ निवासी ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजे नियन्त्रणमा लिएको थियो। मोरङ प्रहरीका सूचना अधिकारी (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार कार्कीलाई सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। शनिबार दिउँसो करिब २ बजेतिर रिहा गरिएको प्रहरीले जनाएको छ। डीएसपी मिश्रकाले अनुसन्धान जारी रहेको बताए।

“प्रहरी अनुसन्धानमा मैले पूर्ण सहयोग गरेको हुँ। कुनै संलग्नता नदेखिएपछि मलाई रिहा गरियो। तर केही सञ्चारमाध्यमले अपराधीसरह चित्रण गरेर समाचार प्रकाशन गर्दा दुःख लागेको छ,” कार्कीले भने।

 

कार्की नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका मोरङ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति हुन्। उनी क्यानभास सुधार केन्द्रका सञ्चालक तथा कटहरीस्थित पञ्चमुखी हनुमान मन्दिरका अध्यक्षसमेत हुन्। कोरोना महामारीका बेला सीमान्तकृत समुदायका लागि विभिन्न सामाजिक सेवामा सक्रिय रहेको उनी निकटस्थहरू बताउँछन्।

 

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भने अझै जारी रहेको छ।