
विराटनगर — श्री अष्टचिरञ्जीवी मन्दिर विराटनगरको १७औँ वार्षिकोत्सव साउन ५ गते मंगलबार विविध धार्मिक कार्यक्रमका साथ मनाइने भएको छ। वार्षिकोत्सवका अवसरमा धार्मिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका समाजसेवी बेनीगोपाल मून्दडालाई ‘मार्कण्डेय–शारदा आचार्य धर्म संस्कृति सम्मान–२०८३’ प्रदान गरिने भएको छ।
मन्दिरका अध्यक्ष विनायक पन्तका अनुसार वार्षिकोत्सवमा विशेष पूजा–अर्चना, लक्ष्यवर्तिका दीप प्रज्ज्वलन, धार्मिक अनुष्ठान तथा सम्मान समर्पणलगायतका कार्यक्रम आयोजना गरिनेछन्।
परमार्थ सिंघिया आरती सेवा विराटनगर–१ का प्रमुख संरक्षक तथा गीता मन्दिरसहित विभिन्न धार्मिक अभियानमा सक्रिय मून्दडाले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गर्न लागिएको मन्दिरले जनाएको छ।
मन्दिरका अनुसार ‘मार्कण्डेय–शारदा आचार्य धर्म संस्कृति सम्मान–२०८३’ पहिलो पटक स्थापना गरिएको सम्मान हो। यस सम्मानलाई आगामी वर्षहरूमा पनि निरन्तर प्रदान गर्दै जाने निर्णय गरिएको छ।
मून्दडाले विराटनगरको हाटखोला घाटको संरक्षण, व्यवस्थापन र सौन्दर्यीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उहाँकै पहलमा घाटको स्वरूप आकर्षक र व्यवस्थित बनेको भन्दै स्थानीयवासीले यसलाई समाजसेवाको अनुकरणीय उदाहरणका रूपमा लिएका छन्।
