
भारतमा पाँच वर्षपछि टिकटकको वेबसाइट फेरि चल्न थालेको छ । तर, टिकटकको मोबाइल एपमाथिको प्रतिबन्ध भने अझै हटाइएको छैन ।

सन् २०२० मा भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकसहित ५९ वटा चिनियाँ एप र वेबसाइटलाई प्रतिबन्ध लगाएको थियो । त्यसैबेला सीमाक्षेत्र गलवान उपत्यकामा भारत–चीनबीच भएको रक्तपातपूर्ण झडपपछि यी प्लेटफर्ममाथि कडाइ गरिएको हो ।
हाल आंशिक रूपमा फुकुवा भएपछि टिकटकको वेबसाइट, अलीएक्सप्रेसजस्ता साइट भारतमा फेरि खुल्न थालेका छन् । तर, प्रयोगकर्ताले अकाउन्ट लगइन गर्न नसक्ने र एप अझै गुगल प्ले स्टोर वा एप्पल स्टोरमा उपलब्ध नभएको जनाइएको छ ।
यस विषयमा भारत सरकार वा टिकटकको मातृ कम्पनी बाइटडान्सले आधिकारिक टिप्पणी गरेका छैनन् । तर भारत–चीनबीच पछिल्लो समय सम्बन्धमा देखिएको सुधारसँगै यसलाई अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वांग यीबीच भएको भेटमा सीमा शान्ति, व्यापार र लगानीबारे छलफल भएको थियो ।
त्यहीबेला अमेरिकामा भने टिकटकमाथि संकट गहिरिँदै गएको छ । बाइटडान्सलाई अमेरिकामा आफ्नो व्यवसाय बिक्री गर्न वा प्रतिबन्धको सामना गर्नुपर्ने अल्टिमेटम दिइएको छ । रोचक कुरा के छ भने, प्रतिबन्धको चेतावनी दिइरहेका बेला ह्वाइटहाउसले आफ्नै आधिकारिक टिकटक अकाउन्ट सुरु गरेको छ र पहिलो पोस्टमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो नै सेयर गरेको छ ।