विराटनगर मेयरद्वारा सामाजिक अभियन्ता एलिनाप्रति अभद्र व्यवहार

विराटनगर।  विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालामाथि सामाजिक अभियन्ता तथा एलिना एनिमल प्रिजर्भेसन नेपालकी अध्यक्ष एलिना प्रसाईप्रति अभद्र व्यवहार गरेको आरोप लागेको छ।

सोमबार सामाजिक सञ्जालमा लाइभ गर्दै प्रसाईले आफू सहयोग माग्न महानगर गएका बेला मेयर कोइरालाले अपमानजनक शब्द प्रयोग गर्दै झण्डै हातपात गर्न खोजेको दाबी गरेकी छन्। “‘तँ साल गधा प्रसाई’ भन्दै दोस्रो तल्लासम्म  खेदाउँदै चिच्याउँदै आक्रोशित स्वरमा मेयर आइलागेका थिए,” प्रसाईले आँसु थाम्दै भनिन्।

विगत लामो समयदेखि आफ्नै खर्चमा सडकका कुकुरको उपचार र संरक्षण गर्दै आएकी प्रसाईले विराटनगर  रानी आईसीपी रोड नजिकै ६ कठ्ठा जग्गा भाडामा लिएर कुकुरको आश्रयस्थल सञ्चालन गरिरहेकी छन्। पछिल्लो समय आर्थिक अभाव भएपछि उनले महानगरपालिकामा पुगेर सहयोगको आग्रह गरेकी थिइन्।

“हामीले त संस्थागत रूपमा मात्र सहयोग मागेका थियौं, निजी फाइदाको लागि होइन। तर उहाँको व्यवहारले हामी चकित भयौं,” प्रसाईले भनिन्। उनका अनुसार, यो पहिलो पटक होइन , यसअघि पनि उनीप्रति यस्तै व्यवहार गरिएको थियो।

प्रसाईले अब मौन नबस्ने बताउँदै प्रेस मिटमार्फत सबै कुरा सार्वजनिक गर्ने तयारी गरेको बताएकी छन्। घटनापछि अत्यास लागेर उनी र उनका दाजु घर फर्किएको जानकारी दिइएको छ।

यसअघि पनि प्रमुख कोइरालामाथि सर्वसाधारणप्रति अभद्र व्यवहार गरेको आरोप लाग्ने गरेका छन्। स्थानीयवासीहरूले पटकपटक मेयरको रुखो शैलीको आलोचना गर्दै आएका छन्।

 

 

 

 

 

 

Tools