मोरङ क्षेत्र नं ५ कांग्रेसमा भाँडभैलो : पुराना नेता अन्सारीलाई पार्टीबाट ‘साइडलाइन’ गर्दै अर्याल समूह

विराटनगर। नेपाली कांग्रेस मोरङ क्षेत्र नं ५ का उम्मेदवार फुलकुमार लालवानीको चुनावी कमान्डर पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीका पुराना नेता हसन अन्सारीलाई पार्टी बैठकहरूमा बोलाउन छोडेको चर्चा क्षेत्र नं ५ मा चल्न थालेको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य अन्सारीलाई यसै निर्वाचनबाट पूरै तह लगाएर अर्याल पक्षले क्षेत्रमा एकलौटी गर्न खोजेको चर्चा कांग्रेसका कार्यकर्ताहरू माझ चल्न थालेको हो।

 

पार्टीमा डा शेखर कोइरालापक्षका भनेर चिनिएका अन्सारी क्षेत्रका पुराना र प्रभावशाली नेता हुन्। यस निर्वाचनमा सोही क्षेत्रबाट टिकटका आकांक्षी समेत रहेका अन्सारीलाई बलियो उम्मेदवारको रुपमा हेरिएको थियो। तर, विशेष महाधिवेशनताका गगनको पक्षमा खुलेका अर्यालले अन्सारीको टिकट खोसेर क्षेत्र नं ६ का मतदाता रहेका लालवानीलाई दिएका थिए।

 

केन्द्रमा आफूलाई जिल्लामा बलियो बताउने अर्यालको क्षेत्रमा भने त्यति राम्रो पकड नभएको कांग्रेसका नेता-कार्यकर्ताहरू बताउँछन्। मोरङ कांग्रेसका एक प्रभावशाली नेताले अर्यालले आफ्नो नाममा टिकट ल्याउन नसके पछि लालवानीलाई प्रयोग गरेर क्षेत्र जोगाउन खोजेका हुन्।

 

‘हसन दाइलाई उम्मेदवार बनाउँदा कांग्रेसले जित्ने सम्भावना थियो’ ती नेताले भने, ‘ अर्यालले हसन दाइले जिते भोलि आफू क्षेत्रविहीन हुने डरले लालवानीलाई प्रयोग गरेका हुन्’।

 

अन्सारीलाई कांग्रेसी वृतका नेता-कार्यकर्ता इतर जिल्लामा मुस्लिम समुदायको अगुवा तथा वरिष्ठ नेताको रुपमा लिने गरिन्छ। मोरङ क्षेत्र नं ५ मा उल्लेखीय मुस्लिम मतदाता रहेको ठाउँमा अन्सारी जतिको पुरानो नेतालाई ‘साइडलाइन’ गर्दा निर्वाचनमा कांग्रेसलाई जोखिममा निश्चित रहेको कांग्रेस क्षेत्रीय कार्यसमितिका एक पदाधिकारी बताउँछन्।

 

नाम नबताउने सर्तमा उनले अर्यालले लालवानीलाई जिताउने भन्दा पनि हराउने उद्देश्यले अन्सारीलाई ‘साइडलाइन’ गरेको बताए। अन्सारीको समर्थन बिना लालवानीले जित्न त के उस्तै परे जमानत जोगाउन समेत गार्ह्रो हुन्छ उनले भने।

 

गत प्रदेश सभाको निर्वाचनमा समेत कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ताले तयारी गरेको क्षेत्र नं ५ (ख) मा अन्तिम समयमा टिकट ल्याएका अर्यालले कांग्रेसका मधेशी नेता-कार्यकर्ताहरूलाई रुष्ट बनाएका थिए। अर्यालले क्षेत्र सुरक्षित गर्ने नाममा प्रभावशाली मधेसी-मुस्लिम नेताहरूको अपमान गर्दा भोलि उनलाई समेत गार्ह्रो हुने ती पदाधिकारीले बताए।

क्षेत्रमा ‘साइडलाइन’ पारिएका अन्सारी क्षेत्र नं ५ भन्दा पनि डा शेखर कोइरालाको क्षेत्र नं ६ मा खटिने तयारीमा छन्। अन्सारी क्षेत्र नं ५ मा त्यति नखुल्ने र अन्तिममा कांग्रेस इतर अन्य पार्टीलाई सघाउने सम्भावना समेत रहेको उनी निकट एक कार्यकर्ताले भने।