
हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले पछिल्लो समय समाजमा मानवताको अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरेकी छिन्। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा शनिबार आयोजित कार्यशाला गोष्ठीमा बोल्दै उनले देश र समाजप्रति जनताको दृष्टिकोण दिनप्रतिदिन नकारात्मक बन्दै गएको बताइन्।
“सञ्चार क्षेत्रमा प्रविधिको चुनौती र अवसर” विषयक कार्यशालामा मेयर लामाले वर्तमान नकारात्मक सोचका कारण मुलुकको व्यवस्था र संविधान नै असफल हुने जोखिममा पुगेको धारणा राखिन्। सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भन्दै उनले कलममार्फत समाजलाई सुसूचित गर्दै नेतृत्वलाई जवाफदेही बनाउने खालको पत्रकारिता आवश्यक रहेको उल्लेख गरिन्।
नेताहरूको दृष्टिकोण र योजनालाई जनस्तरसम्म पुर्याउन पत्रकारको भूमिका उल्लेख्य रहेको बताउँदै उनले सञ्चारकर्मीहरूलाई त्यस दिशामा सक्रिय हुन आह्वान गरिन्। साथै, हीनता, डर र त्रासमा आधारित नेतृत्वबाट समाजको विकास सम्भव नहुने तर्क पनि उनले प्रस्तुत गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारहरूका लागि सुरक्षित वातावरण निर्माण राज्यको जिम्मेवारी भएको बताउँदै तीनवटै तहका सरकारहरू प्रेसमाथि नियन्त्रण गर्न खोजेको जस्तो देखिन थालेको टिप्पणी गरे।
बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत पत्रकारिता संकटमा परेको धारणा राखे भने सञ्चार रजिस्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईका चुनौती र अवसरहरू विषयमा प्रस्तुतीकरण गरे।
त्यसैगरी महासचिव दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण पनि दिएका थिए।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम रहेका थिए। कार्यक्रममा बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईँ, पत्रकार महासंघ मकवानपुरकी सल्लाहकार अञ्जली थापा, महासंघका पूर्व अध्यक्षहरू तथा विभिन्न पत्रकार संगठनका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।