विराटनगर। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आशंकामा विराटनगरका सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–७ निवासी ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र हाटखोला प्रहरीको संयुक्त टोलीले शनिबार बिहान आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कार्की र गिरीबीच लामो समयदेखि सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार गिरीसँगको सम्बन्ध, आर्थिक कारोबार, सम्पर्क सञ्जाल तथा अन्य गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले कार्की गिरीका विश्वासिला सहयोगीमध्ये एक रहेको संकेत गरेको प्रहरी स्रोतको दाबी छ।
अनुसन्धानमा कार्कीले गिरीको आर्थिक हिसाब–किताब राख्ने, विभिन्न आर्थिक गतिविधिको व्यवस्थापन गर्ने, समन्वय मिलाउने तथा बाह्य सम्पर्कको जिम्मेवारी सम्हाल्दै आएको हुन सक्ने आशंकामा प्रहरीले सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै, गिरीको समूहसँग आबद्ध भएर असुली, मिटरब्याज तथा अन्य आपराधिक गतिविधिमा समेत संलग्नता रहेको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले हाल कार्कीसँग गिरीको आर्थिक सञ्जाल, सम्पत्तिको स्रोत, सम्पर्कमा रहेका व्यक्तिहरू तथा सम्भावित आपराधिक गतिविधिसम्बन्धी विषयमा सोधपुछ गरिरहेको जनाएको छ। डीएसपी मिश्रका अनुसार कार्की लामो समयदेखि प्रहरीको निगरानीमा थिए। यसअघि पक्राउका लागि प्रहरी टोली पुगे पनि उनी फेला परेका थिएनन्।
शनिबार बिहान आफ्नै निवासबाट उनलाई नियन्त्रणमा लिन प्रहरी नियन्त्रणमा लिएको हो।
प्रहरीले अभिषेक गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथिको अनुसन्धान पनि विस्तार गरिरहेको जनाएको छ। गिरीको आर्थिक कारोबार, सहयोगी तथा सम्पर्क सञ्जालबारे प्रमाण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार गिरीसँग सम्बन्धित केही व्यक्तिहरू असुली, मिटरब्याज, धम्की तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ। केही व्यक्तिहरूलाई निगरानीमा राखेर प्रमाण संकलनको काम जारी रहेको बताइएको छ।
यसअघि मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिक असुली गरेको आरोपमा अभिषेक गिरी असार १३ गते विराटनगर–८ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकटका व्यक्तिमार्फत पुनः संकलन गरिएको खुलेपछि उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको थियो।
पछिल्ला कानुनी प्रक्रियापछि गिरीलाई संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि हाजिरी जमानीमा छाडिए पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेकाले उनलाई पुनः नियन्त्रणमा लिएर काठमाडौं पठाइएको थियो।
हाल गिरी सीआईबीको नियन्त्रणमा रहेका छन् र उनीमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
