विराटनगरलाई तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि

विराटनगर। विराटनगरले तेस्रो विराट फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ। मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न प्रतियोगितामा बेलबारीलाई पराजित गर्दै विराटनगरले उपाधि जितेको हो।

आज विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा सम्पन्न फाइनल खेलमा बेलबारीलाई ५-३ को अन्तरले पराजित गर्दै विराटनगरले उपाधिमा आफ्नो नाम लेखाएको हो।

मोरङ जिल्लाका ६ टिम सहभागी १ दिने प्रतियोगितामा विराटनगरले उपाधिसँगै मेडल, ट्रफी र २५ हजार नगद प्राप्त गरेको थियो भने बेलबारीले उपाधिसँगै मेडल, ट्रफी र १५ हजार नगद प्राप्त गरेको थियो।

प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारलगायतले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो।