विराटनगर। रिकभरिङ नेपालले सोमबार राष्ट्रिय मानव अधिकार आयोग, चाँदनी चोकस्थित परिसरमा एचआईभी प्रभावित तथा उच्च जोखिममा रहेका समुदायको प्रतिनिधित्व गर्दै गरिबी न्यूनीकरण र मानव अधिकार संरक्षणका विषयमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एचआईभी, लागुऔषध प्रयोग र त्यससँग सम्बन्धित कानुनी विकल्पबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा कोपिला चुडाल ले दुर्व्यसनी युवाहरूको अवस्था अझै पनि भयावह रहेको बताउँदै यसको मुख्य जिम्मेवारी अभिभावकको हुने उल्लेख गरिन्। उनले बालबालिकामा पर्याप्त हेरचाह र मार्गदर्शन आवश्यक रहेकोमा जोड दिइन्।
त्यस्तै, चन्द्र बराल ले विगत २० वर्षको तुलनामा सुधार देखिए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए। उनले निस्वार्थ भावले सेवा कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
प्रशिक्षक सञ्जिप चापागाइँ ले लागुऔषध प्रयोगकर्ताहरूका लागि फौजदारी मुद्दाको विकल्प र पुनर्स्थापना सम्बन्धी उपायहरू प्रस्तुत गरे। अधिवक्ता पेरिस सुवेदी ले अदालतमा दैनिक रूपमा लागुऔषध सम्बन्धी मुद्दाहरू आउने गरेको भन्दै यस क्षेत्रमा थप जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औंल्याए।

कार्यक्रममा मानव अधिकार आयोगका शाखा अधिकृत कृष्ण नारायण श्रेष्ठ, मुस्कान तामाङ, राजेश महर्जन, पत्रकार इशु पन्त, फोकल पर्सन निश्मा नेपाल लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले एचआईभी र लागुऔषध समस्यालाई मानव अधिकार र पुनर्स्थापनाको दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
