साउन महिनामै १० करोडभन्दा बढीको चुरा–पोते आयात
काठमाडौँ । नेपाली हिन्दु महिलाहरूको महान् पर्व तिज मंगलबार (आज) उल्लासपूर्वक मनाइँदैछ । तिजमा महिलाहरू रातो साडी र सोह्र शृङ्गारमा सजिएर गीत–संगीतमा रमाउने परम्परा छ । यही कारण तिजको सिजन सुरु हुनासाथ कपडा, सौन्दर्य सामग्री र गहना पसलमा विशेष चहलपहल बढ्ने गरेको छ ।

विगतका वर्षझैँ यो वर्ष पनि तिज नजिकिँदै गर्दा राजधानीका मुख्य बजारहरूमा कस्मेटिक र कपडा पसलमा भिड बढेको थियो । साडी, चुरा, पोते, टिका–धागो लगायतका सामग्री किन्ने महिलाको घुइँचो देखिँदा व्यवसायीहरू उत्साहित बनेका छन् । व्यवसायीहरूका अनुसार पछिल्ला वर्षमा प्रत्यक्ष पसलमा आउने ग्राहक केही घटेका भए पनि अनलाइन खरिदको प्रवृत्तिले व्यापारलाई सहयोग पुर्‍याएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठका अनुसार यस वर्ष तिज सम्बन्धी व्यापार उत्साहजनक देखिएको छ । उनका भनाइमा साडी, कुर्ता, चुरा–पोतेजस्ता सामान मुख्यतः भारतबाट आयात हुने भएकाले बजारमा अभाव नभई सहज मूल्यमा उपभोक्ताले खरिद गर्न पाएका छन् ।

‘तिजका अधिकांश सामग्री छिमेकी मुलुक भारतबाटै आयात हुने भएकाले आपूर्ति सहज रह्यो, जसको सीधा असर व्यापारमा सकारात्मक देखियो,’ अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यसले उपभोक्तालाई पनि राहत दिलाएको छ ।

भन्सार विभागका तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्र महिलाले लगाउने सारी १५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको आयात भएको छ, जसबाट ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ । गत आर्थिक वर्षमा मात्रै १ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सारी भित्रिएको थियो ।

त्यस्तै, यस वर्षको पहिलो महिनामै २२ करोड रुपैयाँभन्दा बढीको कुर्ता सुरुवाल आयात भएको छ, जुन गत वर्षको वार्षिक आयातभन्दा पनि धेरै हो । शृङ्गार सामग्रीतर्फ पनि माग उच्च देखिएको छ । साउन महिनामा मात्र चुरा ९ करोड ३४ लाख रुपैयाँ र पोते १ करोड ३९ लाख रुपैयाँ बराबर भित्रिएको छ ।

यसरी एक महिनामै चुरा–पोते गरी १० करोड ७३ लाख रुपैयाँभन्दा बढीको सामान आयात भएको छ । गत आर्थिक वर्षमा भने चुरा, पोते र टिका मिलाएर करिब ७६ करोड रुपैयाँ बराबरको आयात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

यी सामग्री भारतसहित चीन, थाइल्यान्ड र बङ्गलादेशजस्ता मुलुकबाट नेपालमा आउने गरेको विभागले जनाएको छ । समग्रमा, यस वर्ष तिज पर्वले बजारमा राम्रो चहलपहल ल्याएको र व्यापार सन्तोषजनक रहेको व्यवसायीहरूको धारणा छ ।