मनसुन सक्रिय: बिहीबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, १६ असार । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि विशेष मौसम चेतावनी जारी गर्दै बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार असार १६, १७ र १८ गतेसम्म देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन र मौसमसम्बन्धी अद्यावधिक सूचनाको नियमित जानकारी लिन आग्रह गरिएको छ।

आजको मौसम

आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। तराई तथा मधेसका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

बुधबार पूर्ण बदली, भारी वर्षाको सम्भावना

बुधबार देशभर मौसम पूर्णतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही जिल्लामा हावाहुरीको जोखिम पनि रहने महाशाखाले जनाएको छ।

बिहीबार पनि जोखिम कायम

बिहीबार देशभर मौसम पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहने मौसमविद्हरूले बताएका छन्।

महाशाखाले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम तथा मधेस प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो, भू-क्षय र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ।

नदी तथा खोलाहरूमा जलसतह बढ्न सक्ने, सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई अनुरोध गरिएको छ।