पी.यु. कलेज अफ ल मा नेवि संघद्वारा तालाबन्दी

विराटनगर।नेपाल विद्यार्थी संघ पी.यु. कलेज अफ ल इकाई समितिले विद्यार्थीको शैक्षिक हित प्रभावित भएको भन्दै बिहीबारदेखि सम्बन्धित कार्यकक्षमा तालाबन्दी गरेको छ।

संघले लामो समयदेखि विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने शैक्षिक तथा प्रशासनिक समस्याबारे पटक–पटक माग राख्दै आएपनि सम्बद्ध निकायले बेवास्ता गरेको आरोप लगाइएको छ। यसअघि बिहीबार २४ घण्टे अल्टिमेटमसहित माग प्रस्तुत गरिएको समितिले जनाएको छ।

कानून संकायका विद्यार्थीका लागि बनाइएको मूट कोर्टको कोठा प्राध्यापकको आरामकक्षका रूपमा प्रयोग गरिएको भन्दै विद्यार्थी आक्रोशित बनेका छन्। दोस्रो वर्षका विद्यार्थीको सैद्धान्तिक सिलेबस सकिए पनि मूट कोर्ट अभ्यास हुन नसकेको उनीहरूको गुनासो छ।

दोस्रो वर्षका विद्यार्थी निकेश भट्टराईका अनुसार कानुनको समाजशस्त्र पढाउने शिक्षकले अभ्यास सुरु गर्नुपर्ने बेला भएको बताए पनि मूट कोर्ट कोठा निषेध गरिएको छ,भने छिट्टै खाली गर्नुपर्छ।

कला कानून र शिक्षा संकाय डिन डा कोमल प्रसाद दुलालका अनुसार दशैंपछि सहजीकरण गर्ने आश्वासन दिएपनि तत्काल अभ्यास सुरु हुनुपर्ने विद्यार्थीहरूको माग छ।तत्काल समय मिलाएर दिनको तीन चार घण्टामा छिट्टै अभ्यास सक्न भनेपनि प्राध्यापकले अन्य कक्षाको पाठ्यक्रम पनि पूरा गर्नुपर्ने बाध्यताका कारण विशेष ध्यान दिन नसकेको अवस्था छ।

नेवि संघ इकाई समितिका सभापति प्रभास झाका अनुसार विद्यार्थीले आफ्नो अधिकार अनुसार मूट कोर्ट अभ्यास गर्न पाउनुपर्छ। यो सुविधा नपाउँदा भविष्यको अदालती अभ्यासमा प्रत्यक्ष असर पर्छ, त्यसैले तत्काल सहजीकरण आवश्यक छ।