श्रीमान्, शिशु हत्याका अपराधिलाई हदैसम्मको कारवाही होस्

इसु पन्त, बिराटनगर । दृश्य १– गम्भिर मुद्रामा रहेका न्यायधिस तिर फर्कदै कालो कोट लगाएका वकिलले आफ्नो पक्षको दलिल पेश गर्न थालेपछि मुद्धाको सुनुवाईमा रहेका सबैका अनुहारमा फरक भाव देखिन थाल्छ । अदालत भित्रको माहोल वकिलहरुको तर्क र वहसले मुद्धाको किनारा नलागेसम्म नरोकिने अवस्थामा पुग्छ । संयुक्त बेन्चको सुनुवाइमा परेको मुद्धा भएका कारण न्याधिसहरु समेत आपसमा परामर्श गर्दै वकिलहरुलाई बिच बिचमा प्रश्नहरु गरिरहेका छन् । वकिलहरु आ आफ्नो पक्षका बिषयमा अघिल्ला फैसलाहरुका नजिर समेत सुनाइरहेका छन । जिल्ला अदालत भित्रको माहोल साच्चै फरक छ ।

दृश्य २ –प्रतिवादी पक्षका वकिलले नवजात शिशुको मृत्यु प्राकृतिक भएको तर्क गर्दै बच्चा अचेत भएर आफै मरेको र कुनै आपराधिक मनसाय वा कार्य पुष्टि नहुने दाबी गर्दे आफ्नो पक्षको बचाउ गर्दै गर्दा वादी पक्षका विद्धान अधिवक्ताले बच्चालाई ढुंगाले प्रहार गरी हत्या गरिएको दाबी गरे । उनका अनुसार अवैध सम्बन्धबाट बच्चा जन्मिएको कारण परिवारले नवजात शिशु स्वीकार नगरेर अम्रिसोको घारीमा फालेका थिए । घटनास्थलको मुचुल्कामा शिशुलाई पातले छोपिएको समेत पुष्टि भएको प्रमाण देखाउँदै वकिलले आफ्नो दलिलको अन्त्यमा भने, “श्रीमान्, अपराध संहिता २०७४ को दफा १७७ अनुसार नवजात शिशु हत्या कसुरमा दोषीलाई हदैसम्मको कारबाही माग गर्दछु ।” वकिलको यस्तो माग दावी सुनेपछि अदालत एकाएक सुनसान बनेको थियो ।

कुनै सेनेमाको अंश जस्तो देखिने माथिका संवादहरु वास्तविक अदालतका नभएर वकिल बन्न जोडवलका साथ मेहेनत गरिरहेका भावी वकिलहरुका ‘भिएलसी मुट कोर्ट प्रतियोगिता’ का हुन । ब्राइट भिजन ल कलेजमा पहिलोपटक आयोजित प्रतियोगितामा नवजात शिशु हत्या मुद्दालाई मुख्य विषयवस्तु बनाएर वादी र प्रतिवादी पक्षले प्रभावशाली तर्क प्रस्तुत गरेका थिए । विद्यार्थीहरूमा न्यायिक प्रक्रिया, तर्कशक्ति र अपराध कानूनको प्रयोगमा व्यवहारिक ज्ञान दिलाउने लक्ष्यका साथ आयोजित कार्यक्रमा न्यायधिसको भुमिकामा रहेका वरिष्ठ अधिवक्ता चूडामणि आचार्य समेत विद्यार्थीहरुका कानुनी तर्क सुनेर प्रभावित बने । मुद्धाको गम्भिरता, तर्क र कानुनको व्याख्यामा विद्यार्थीहरुको अव्वल प्रस्तुतीले कानुनी क्षेत्रमा नयाँ पुस्ताको प्रवेशले न्याय सम्पादनमा टेवा पुग्ने भन्दै आचार्यले अबको पुस्ताले कानुन विषयलाई रुचिको विषय मात्र होइन कानुनी ज्ञानको आवश्यकतालाई समेत नयाँ उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे ।

श्री गोग्रहा जिल्ला अदालत, पोखरीया नामको काल्पनिक न्यायालयमा मुद्दा सुनुवाइ गरिएको आइतबारदेखि सुरु भएको प्रतियोगिताको बुधबार भएको फाइनलमा लोकेश धाडेवा, प्रतीक गौतम, आकृति खनाल, मनिष सिग्देलको टोली प्रथम भयो ।

उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी रहेको संयुक्त इजलासले सबै समूहको तार्किक बहस सुनेर विजेता, उपविजेता र तेस्रो भएको घोषणा गरेका थिए ।

प्रतियोगितामा रञ्जना घिमिरे, कृतिका ढकाल, अनुशा आचार्य र अमृता कटुवालको समूह दोस्रो भए भने अविशा निरौला, आयुषा राई, प्रश्रित ढकाल र प्रवीण सापकोटा तेस्रो भएका हुन्।