हवाई दुर्घटना शृङ्खलाको सामना गर्दै भारत

भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ । विमानमा २४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ ।लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताएका छन् । एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ ।विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।

भारतले हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ । त्यसबेला दुई जेट नयाँदिल्लीमाथि हावामा ठोक्किएर करिब तीन सय ५० जनाको ज्यान गएको थियो ।सन् २०१० मा दक्षिण पश्चिम भारतको मंगोलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो । उक्त दुर्घटनामा एक सय ६६ यात्रु र चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो ।दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा तीन सय २९ जना यात्रु सवार थिए र कोही पनि बाँचेनन् ।

उग्रवादी सिखहरूले विमानले बोकेको सामानमा बम राखेको एउटा भारतीय आयोगले निर्धारण गरेको थियो ।