
विराटनगर । नेपाल चिकित्सक संघ, कोशी शाखाको आयोजनामा “न्यायको खोजीमा – सेतो कोटको एकता” शीर्षक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उपभोक्ता अदालतद्वारा सुनाइएका पछिल्ला फैसलाहरूका कारण समग्र पेशाकर्मी नै त्रासमा रहेको भन्दै सामाजिक र व्यावसायिक अपमानको स्थितिमा पु¥याएको विषयमा बिशेष चर्चा समेत भएको थियो । चिकित्सा क्षेत्रमा पछिल्लो समय सिर्जना भएको मनोवैज्ञानिक, व्यावसायिक र न्यायिक संकटलाई केन्द्रमा राख्दै बिरामीको उपचार गर्न समेत जोखिम बढेको भन्दै सहभागी चिकित्सकहरुले पेशागत सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका थिए ।
पछिल्लो समय काठमाडौं बुढानीलकण्ठका एक वृद्धको उपचार प्रसंगमा अदालतले ओम अस्पताललाई असी प्रतिशत र संलग्न चिकित्सकहरूलाई बिस प्रतिशत दोषी ठहर गर्दै ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिए पछि चिकित्सकहरु त्रासमा रहेका छन । त्यसैगरी हिमाल अस्पताल र डा. जयदेव यादवलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसलाले त चिकित्सकहरुलाई सयौंमा सेवा शुल्क लिनुपर्ने र लाखौमा क्षतिपूर्ति तिर्नुपर्ने जोखिम बढेको भन्दै कार्यक्रममा नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिव डाक्टर बालकृष्ण शाहले आक्रोश व्यक्त गरे ।
डाक्टर शाहले बिरामीको मृत्युलाई सिधै फ्याक्चरको कारण भनेर पुष्टि गर्ने वैज्ञानिक प्रमाण समेत नभएको अवस्थामा अदालतले बिना आधार उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको भागीदार बनाएको बताउँदै उपभोक्ता अदालत स्वास्थ्य लापरवाहीमा सक्रिय हुँदै गएको भन्दै चिकित्सकहरूले यसको असरलाई न्यायिक हस्तक्षेपभन्दा बढी मानसिक त्रासका रूपमा महसुस गरिरहेको बताए ।
कार्यक्रममा विभिन्न संघ÷संस्थाहरूका प्रतिनिधिहरु, अस्पताल सञ्चालक र चिकित्सकहरुले चिकित्सा पेशालाई सामान्य उपभोक्ता ऐन अन्तर्गत समेटिनु न्यायिक रूपले अनुचित रहेको धारणा व्यक्त गरेका छन् । सहभागीहरुले उपभोक्ता अदालतमा कम्तीमा दुई जना न्यायाधीश रहने व्यवस्था हुनुपर्ने, मुद्दामा विषय विज्ञको राय अनिवार्य गर्नुपर्ने र अदालतमा स्वास्थ्यसम्बन्धी ज्ञान भएका व्यक्ति नहुँदा निष्पक्षता गुम्नसक्ने खतरा भएकाले न्यायिक दलमा सम्बन्धित विषयका विज्ञलाई अनिवार्य समावेश गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा औषधिको अव्यवस्थित वितरण र नियमन प्रणालीबारे रोष प्रकट भएको थियो । बजारमा ५० हजारभन्दा बढी औषधिहरू बिक्रीमा रहँदा २५ हजार औषधिहरू मात्र दर्तामा रहेको भन्दै गुणस्तरहीन औषधिहरू बीमा योजनामार्फत वितरण भइरहदा जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गरिरहेकोले यसको दोश पनि चिकित्सकहरुलाई जान सक्ने भन्दै कारवाहीको जोखिममा रहेर उपचारमा संलग्न हुन बाध्य बनाउन नहुने सहभागी चिकित्सकहरुले जोड दिएका छन ।
चिकित्सकहरू पछिल्लो समय जोखिम उठाउन डराउन थालेका छन् । गम्भीर प्रकृतिका बिरामी हेर्न हिचकिचाउने, रेफर गरेर उम्किन खोज्ने, ग्रामीण सेवामा जान नचाहने प्रवृत्ति बढ्दै गएको छ । जसको दीर्घकालीन असर आम नागरिकको स्वास्थ्यमा पर्ने निश्चित छ ।
नेपाल चिकित्सक संघ, कोशी शाखाद्वारा सञ्चालनमा रहेका विरोध कार्यक्रम (कालोपट्टी लगाएर सेवा दिने) जारी रहने जनाइएको छ । संघले सबै स्वास्थ्यकर्मी र सरोकारवाला संघसंस्थालाई बिरोध कार्यक्रममा ऐक्यवद्धता जनाउन समेत आह्वान गरेको छ ।