काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको छ । उनीसँगै रहेका पाँच जना अन्य नेपाली तथा चार विदेशी आरोहीहरूको पनि मृत्यु भएको छ ।

पुर्जाकै नेतृत्वमा रहेको आरोहण कम्पनी ‘एलिट एक्सपेड’ ले फेसबुकमा पेजमा विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको हो ।
संस्थाले लेखेको छ, “आज हामी अत्यन्तै गहिरो शोक र पीडाका साथ यो पुष्टि गर्दछौँ कि ब्रड पिकमा गएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाले ज्यान गुमाउनुभएको छ । यस अभियानका अन्य सदस्यहरूले पनि ज्यान गुमाएको दुःखद खबर हामीलाई प्राप्त भएको छ ।”
“यस कल्पनातीत क्षतिको पीडा कम गर्न कुनै शब्द पर्याप्त छैनन्,” विज्ञप्तिमा भनिएको छ ।
एलिट एक्सपेडले पुर्जालाई विश्व पर्वतारोहण इतिहासकै एक महान् पर्वतारोही र नेताका रूपमा चित्रण गरेको छ । संस्थाले भनेको छ, “विश्वले पर्वतारोहण क्षेत्रका एक महान् व्यक्तित्व गुमाएको छ । उनी एक यस्ता नेता थिए जसले आफ्नो साहस, नम्रता र मानवीय क्षमताप्रतिको अटल विश्वासमार्फत लाखौँ मानिसलाई प्रेरित गरे ।”
पुर्जाले आफ्ना असाधारण उपलब्धिहरू मार्फत संसारलाई ठुलो सपना देख्न, आफैँमा विश्वास गर्न र सीमाहरूलाई अस्वीकार गर्न सिकाएको कुरा विज्ञप्तिमा उल्लेख छ ।
निर्मल पुर्जाले आफ्नो नेतृत्व र दृढ संकल्पबाट एलिट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काईडाइभ निम्सदाइ, निम्सदाइ स्टोर जस्ता संस्थाहरू खडा गरेका थिए ।
८,०४७ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा पुर्जासहितको टोली हिमपहिरोमा परेको थियो । पुर्जाले यसअघि विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरू सबैभन्दा सात महिना अवधिमा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
यसपछि पुनको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्स समेतसार्वजनिक भएको थियो ।
