
धिरज दाहाल
‘एक पटक यसै पटक’ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको यही नारा थियो । उनले शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दा एकै पटकमा जित्ने योजनासाथ यो नारा प्रचार गराएका थिए । तर, पराजित भए । १५ औं महाधिवेशनमा फेरि सभापतिको उमेदवार बन्ने घोषणा गरिसकेका छन् । घोषणा पछि उनले देखाएको सक्रियता साच्चै लोभलाग्दो छ । शेखरबिना कांग्रेस करिव करिव सक्किने भन्दै शेखर गुटका कांग्रेसजनको बखानगान अझै लोभलाग्दो छ । जे होस्, पहिले एमाले खोज्दै माओवादीसँगको गठबन्धन कोसीबाट भत्काइएको थियो । त्यसको पैरवी कोइरालाले नै गरेका थिए । तर, अहिले परिस्थिति फरक छ । कोइराला गुटअहिलेको गठबन्धनविरुद्ध खनिएका खनियै छन् । सरकार वा पार्टीको आलोचनामा शेखर र उनको समूहको सक्रियता तारिफयोग्य छ ।

कोइराला परिवारको सदस्य भएर जन्म लिनु कांग्रेसमा नेता बन्ने क्षमता र योग्यताको पहिलो दरिलो आधार हो । यसमा शेखर मात्रै होइन अन्य सदस्य पनि जोडिएकै छन्, शशांक, सुजाता पनि मैदानमै छन् । यसलाई नतमस्तक भएर स्विकार गर्नु कांग्रेसी कार्यकर्ताको पहिलो धर्म हो । धर्मको पालनामा कांग्रेसी कार्यकर्ता अन्य दलका धर्मालम्बी भन्दा अब्बल छन्, सन्देह गर्नु कांग्रेसकै अपमान हुन्छ ।
कांग्रेसभित्र अनेकौ कांग्रेस छन् । ती अनेकौ कांग्रेस भित्रका पनि अनेकौ नेता छन् अझ बल गरेर भनौ, सबै नेता छन् । कार्यकर्ता त सामान्य जनता मात्रै भए जो निर्वाचन छेउछाउ डण्डामा झण्डा लगाउँछन् । मतदानका दिन त्रिपाल मुनि बसेर चना र भुजा बजाउँछन् । बाँकी सबै नेता छन् । नत्र विमानस्थलमा हेरौं, जो आए नि भिड नै छ । डाक्टर आउँदा नि भिड छ, नर्स आउँदा नि उस्तै देखिन्छ । खादा, माला भिरेकै छन् । क्यामेरा खोलिएकै छन् । सवाल जवाफ भएकै छन् । अनलाइन र अखबारमा समाचार आएकै छन् ।
भागवण्डाको लामो इतिहास बोकेको कांग्रेसभित्र शेखरको उदय अनि महाधिवेशनमा उनको पराजयलाई मात्र प्रतिस्पर्धा होला भन्ने सोचिएको थियो । साथै महाधिवेशनमा प्राप्त ४० प्रतिशतको मत संख्याले कांंग्रेस रुपान्तरणमा ठूलै महत्व राख्ला सोचिएको थियो तर, के भयो त ? प्रश्न गम्भीर छ । सायद भएन होला । शेखरले नै परिणाम पछि भागवण्डाको राजनीति गर्न नआएको भन्दै गर्दा खुशी भएका तमाम कार्यकर्ताहरुले अलिक पछि बुझे मादल फरक हो ताल चै उहि रहेछ । कतै भागमा मिलेर मन्त्री भए, कतै संख्या थोरै भयो भन्दै मन्त्री बन्नै पाएनन् । घुर्की र धम्की चलिरहेको छ, चल्दै छ । सभापति टेरपुच्छर लाउँदैनन् । गिरिजा प्रसाद कोइरालासँग भिडेर, लडेर राजनीतिका अनेक दाउ र भाउ खाएर पोख्त हुदै आएका शेरबहादुर देउवाले कम महत्व दिए शायद ।
गोठालोलाई मासु खान मन लाग्यो भने मैदालको काँडो ल्याएर खसीको पुच्छरमा घोचिदिन्छ रे । काँडाले घोचेपछि खसी फनफनी घुम्न थाल्छ । मालिकले खसीलाई घुमुवा लाग्यो भनेर गोठालोलाई खसी काट्न आदेश दिन्छ । अहिले यही कथा र कथन जस्तै छ यता । शेरबहादुरले घोचेको मैदालको काँडाले शेखर घुमिरहेका छन् । भलै भाषामा देश दौडाहा वा आसन्न महाधिवेशनको तयारी भनिएको छ । राजाको छोरा त राजा नहुने देशमा राजनैतिक परिवारकाले चै नेता नै हुनुपर्छ भन्ने मान्यता पाल्नु आफैमा रोचक छ । पारसले त मन बुझाए ।
कांग्रेस केवल राजनैतिक दल मात्र होइन । यो समाजवादी चिन्तनको विशाल भण्डार समेत हो । तर, कांग्रेस परिवर्तनका संवाहक बन्ने लिगलिगे दौडमा रहेकाहरुको बिचार सुन्दा कांग्रेस विचारमा हैन, अब युट्युव र टिकटकमा छ । योभन्दा गलत पक्कै हुदैन कि शेखर समूहमा रहेका नेताका कुराले मात्र पनि धेरै क्यामेरा चलेका छन् । राम्रै पनि हो ! वैदेशिक रोजगारी केही हदसम्म रोकिएको छ, भलै त्यो क्षणिक नै किन नहोस् ।
डाक्टरहरुको वाहुल्यता रहेको यो समुह अहिले रोचक र घोचक खुराक दिने राजनैतिक समूह अन्र्तगत पर्छ । शान्त, भद्र र बौद्धिक छविका डाक्टर मिनेन्द्र रिजाल शेखर समूहमा उप–सभापतिको उमेदवारका रुपमा चर्चामा छन् । पछिल्लो निर्वाचनमा सुजाता कोइरालाले बाजी मारेर आफूसहित थान्को लगाएकी मिनेन्द्र अहिले शेखर समूहमा छन् । कसले हो टुरिष्ट उमेदवार भनिदिएछ निर्वाचनताताका अमरदहमा । घर नै ठोकिदिए । लौ त, ना रहे बाँस, ना बजे बाँसुरी । घर नै भएपछि त आउनै पर्छ, छिमेकीहरुका घरमा भएका सत्यनारायणका पूजामा प्रसाद खान अनि समवेदना दिन । बेलाबेलामा भएको यिनको यस्तो सहभागिताको पनि खुलेरै प्रशंसा गर्नुपर्छ ।
कुनैबेला आफ्नो नेतृत्वमा रहेको ने.वि.संघको बालक गगन थापा पार्टीको महामन्त्री भइसकेको पीडा उता गुरुराज घिमिरेलाई पनि पोल्ने खालकै छ । सायद त्यही पीडावोधले यी यता समूहमा महामन्त्रीको उमेदवारको रुपमा आफूलाई चिनाउँदै छन् । बेलाबेला यो पीडा रात्रिकालीन कवितामार्फत जाहेर गर्छन । मनै त हो कहाँ पोख्नु र ! प्रदेश सभा निर्वाचनमा पनि धोका खाएका घिमिरेले राजनैतिक स्पेस खोज्नु जायज छ । अस्ति फेरि मोरङका नेता अमृत अर्यालले थोरै हौस्याइदिए, गुरु घिमिरेलाई हराउन लाग्नु ठूलै गल्ती भयो भनेर । अब भयो त, संसदीय दलको चुनावमा आफ्नै जम्मा २ भोट आएको थियो, जिताउन चै कसरी सकिन्थ्यो ?
शेखर समुहका अहिलेका प्रमुख सेनापती डा. सुनील शर्मा स्वघोषित सह–महामन्त्रीका उमेदवार हुन् । कुनैबेला हिरोजेट साइकलमा माओवादीका नेता कृष्ण सेनलाई गिरिजा प्रसाद कोइरालासँग निवासमा भेट गराएर चिनिएका सुनील अहिले करिव करिव सिंगो कांग्रेसको मसिहा हुन । यिनलाई टिकटक र युट्युवमा सुन्यो भने लाग्छ, अब कांग्रेस सकियो ! यिनको इमानदारिता बाहेक कांग्रेसमा बाँकी केही छैन । फेरी कोशी प्रदेशकै पूर्व मुख्यमन्त्री केदार कार्की पनि यही पदमा चर्चा चलाउँदै छन् । कार्की पनि शेखरकै प्रिय केदार नै हुन ।
शेखर यिनै सेनाका भरमा र बलमा महाधिवेशनको तयारी जोडवलका साथ गर्दैछन् । समयमा चै हुनुपर्छ महाधिवेशन, सभापतिले सुनेभने तर बोली जस्तै कानमा समस्या भयो भने चै ठेगान छैन । यता संख्या थपिदैछ । पार्टी विधान अनुरुप चल्नु पर्छ त्यो ठिक छ । तर, मोरङका मात्रै यतिका उमेदवार भएपछि अन्य संख्या चै कसरी व्यवस्थापन गर्ने हो ? थपिएका संख्या के गर्ने हो ? फेरी त्यो बेला उमेदवार हुनै पाएनन् भने त अहिले देखिएका सेना र सेनापति रहलान् र त्यो बेलासम्म ? कि मारा गोली, नेपाली कांग्रेस मोरङ केन्द्रीय समिति बनाउने हौ ?