विराटनगर । उच्च शिक्षा सम्बन्धी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अचिभर्स कन्सल्टिङ सर्भिसेसले ‘लिडर्स स्कलरसिप–२०२६’ अन्तर्गत पाँच जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थी तथा अभिभावकलाई आज दिउँसो २ बजे अचिभर्सको कार्यालयमा बोलाएर छात्रवृत्ति पत्र हस्तान्तरण गरिएको हो ।छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा विराटनगर–१३ का सागर फुयाल, झापा–५ की काजल कुमारी कमत, विराटनगर–१० का फरक क्षमता भएका विद्यार्थी अमन मण्डल तथा सुनसरीको हरिनगरा–४ का भोला देव तथा स्वेतम शाह रहेका छन् ।
अचिभर्स कन्सल्टिङले पढाइमा उत्कृष्ट, आर्थिक अवस्था कमजोर, जेहनदार तथा अपाङ्गता भएका विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क अध्ययन गराउने जनाएको छ ।अचिभर्स कन्सल्टिङ सर्भिसेसका सञ्चालक सुनिल जैसवालका अनुसार समाजप्रतिको सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो ।
छात्रवृत्ति छनोटका लागि आयोजित परीक्षामा करिब १ सय ५० विद्यार्थी सहभागी भएका थिए । उत्कृष्ट नतिजा ल्याउनेमध्ये खुल्लातर्फ दुई जना, गरिब तथा जेहनदारतर्फ दुई जना र अपाङ्गता भएका एक जना विद्यार्थी छनोट गरिएको उनले बताए ।छनोट भएका विद्यार्थीलाई विराटनगरका प्रतिष्ठित कलेजमा आफूले रोजेको विषय अध्ययन गर्ने व्यवस्था मिलाइने अचिभर्सले जनाएको छ ।
१३ वर्षअघि विराटनगरबाट सुरु भएको अचिभर्सले हाल काठमाडौं, नेपालगञ्ज, राजविराज, लहान तथा इनरुवासहित विभिन्न स्थानमा शाखा विस्तार गरी सेवा दिँदै आएको छ । साथै भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत र कोरियालगायत देशमा विद्यार्थीलाई उच्च शिक्षाका लागि पठाउँदै आएको छ ।
